छोरी महिमा कार्यक्रम लाई उच्च प्राथमिकतामा राख्दै  सफल महिला बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न ।  २१ लाख ७९ हजार ९ सय ९९  शुद्ध नाफा गर्न सफल

सुनवल नगरपालिका वडा नम्बर १ स्थित सफल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

साधारण सभा सञ्चालक समितिकी अध्यक्ष पवित्रा गौतम सापकोटाको अध्यक्षता एवं  संस्थाका जेष्ठ सदस्य  भीमकुमारी रानाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। 

अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सापकोटाले वि.स. २०६९ सालमा ३७ जना दिदीबहिनीहरू मिली ३७ हजार सेयर पूँजीबाट विधिवत रुपमा डिभिजन सहकारी कार्यालयमा दर्ता भई स्थापना भएको यस संस्थाले आजको दिनसम्म आइपुग्दा जम्मा ८ करोड ५१ लाख ३२ हजार ८५२ को कारोबार गरेको र १०७२ जना शेयर सदस्य संख्या पुगेको बताउँदै संस्थाको नाम जस्तै काममा पनि सफलता पाइरहेको बताउनुभयो । उहाँले संस्था स्थापना कालदेखि यहाँ सम्म पुर्‍याउनको लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो। 

साथै संस्थाले सहज र सजिलो तरिकाले बचत गर्ने र ऋण प्रवाह गरिरहेको बताउँदै सदस्य दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो। 

 संस्थाले छोरी महिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी SEE र +2 मा उत्कृष्टता हासिल गर्ने सेयर सदस्यका छोराछोरीलाई नगद रु ११ हजार का दरले सम्मान गरेको छ। सोही कार्यक्रम अन्तर्गत गत वर्ष दुईजनालाई प्रदान गरिएको पुरस्कार यस वर्ष पाँचजनालाई प्रदान गरिएको र आगामी वर्ष क्रमश थप गर्दै जाने र पुरस्कार छनोटमा गरिब तथा जेहनदार र खुल्ला तर्फबाट छनोट गरिने गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो। 

संस्थाले सफलताको यात्रालाई अझै पारदर्शी जिम्मेवारी र नवीन सोचसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सुत्केरी भेटघाट कार्यक्रम र नयाँ बुहारी स्वागत कार्यक्रमलाई पनि निरन्तरता दिने  जानकारी दिनुभयो। 

सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सचिव यशू श्रेष्ठले यस आ.व. मा  ११० सेयर सदस्य वृद्धि भएको जानकारी दिँदै संस्थाका १ जना सेयर सदस्यको मृत्यु भए पश्चात् क्रिया खर्च रु ५००० प्रदान गरिएको जानकारी दिनुभयो । 

संस्थाको संस्थाको २०८३ असार मसान्तसम्मको कुल आम्दानी ८४ लाख  ४७ हजार ३ सय ४४ रुपैयाँ रहेको र कुल खर्च ६० लाख २५ हजार १ सय १९ भई रु २१ लाख ७९ हजार ९ सय ९९ शुद्ध नाफा गर्न सफल भएको प्रतिवेदनमा जनाइएको छ। 


लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक लक्ष्मी बस्यालले संस्थाले संस्थागत यात्रा र सामाजिक योगदानतर्फ महिला सशक्तिकरण र आत्मनिर्भरताका लागि सीपमूलक तथा नेतृत्व विकास सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले संस्थागत सुशासन र आन्तरिक नियन्त्रणतर्फ  आर्थिक अनुगमनका लागि सम्पूर्ण वित्तीय कारोबारहरूको लेखा समितिबाट सूक्ष्म अनुगमन गरी संस्थाको हक हितमा आवश्यक राय सुझावहरू नियमित रुपमा उपलब्ध गराइएको बताउनुभयो। 

उहाँले सम्पूर्ण लेखा सञ्चालन र हिसाबकिताब सहकारी विभागले तोकिएको मापदण्ड अनुरूप पारदर्शी र व्यवस्थित पाइएको बताउँदै सम्पूर्ण खाता, स्रेस्ता र महत्वपूर्ण अभिलेखहरू सुरक्षित र व्यवस्थित ढंगले राखिएको र संस्थाको दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि हाल दुईजना कर्मचारीहरू कार्यरत रहेको जानकारी दिनुभयो ।

सञ्चालक समितिकी सदस्य पार्वती सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव यशु श्रेष्ठले गर्नुभएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष लक्ष्मी पोखरेल र शेयर सदस्यको तर्फबाट सीता बस्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै