नवलपरासीमा भन्सार छली ल्याइएको करिब १ करोड १५ लाख रुपैयाँ बराबरका मोबाइल पार्ट्ससहित पिकअप नियन्त्रणमा

भाद्र २६ | पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्स तथा सामग्रीसहित प्रहरीले एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सरावल गाउँपालिका–७ स्थित भन्सार टोलबाट बिहान करिब ४ बजे अवैध सामग्रीसहित लु ३ च २९३९ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बीओपी भुजहवाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पिकअप गाडीबाट २२ लाख ९४ हजार रुपैयाँ बराबरका २ हजार २ सय ९४ पिस मोबाइल एयरपोड्स, ७० लाख ९५ हजार रुपैयाँ बराबरका ४४ हजार ३ सय पिस टेम्पर ग्लास, ९३ हजार रुपैयाँ बराबरका ९ सय ३० पिस मोबाइल कभर र २ हजार रुपैयाँ बराबरको एक बोरा प्लास्टिक बरामद गरिएको छ।

बरामद मोबाइल पार्ट्स तथा अन्य सामग्रीको मात्रै कुल मूल्य ९४ लाख ८४ हजार रुपैयाँ रहेको छ। यस्तै, उक्त सामग्री ओसारपसारमा प्रयोग गरिएको पिकअप गाडीको मूल्य २० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यसअनुसार बरामद सामान र पिकअप गाडीसहित कुल अनुमानित मूल्य १ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभएको छ।

नियन्त्रणमा लिइएको अवैध सामग्री तथा पिकअप गाडीलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
 

 DPO Nawalparasi Notice
Caption

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै