सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारण सभा सम्पन्न
सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सुनवल नगरपालिका वडा नम्बर १, बनाहामा रहेको सुनवल नेवा गुठीको सभाहलमा साधारण सभा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष गोविन्दप्रसाद ढकालको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा अध्यक्ष ढकालले आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाले गरेका गतिविधि तथा आगामी आर्थिक वर्षका कार्ययोजनासहितको प्रगति एवम् कार्यविधि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा आगामी वर्षका लागि १७ वटा कार्ययोजना प्रस्तुत गरिएको छ।
संस्थामा हाल १ हजार ९ जना शेयर सदस्य रहेको जनाइएको छ।
यस्तै, संस्थाको सांगठनिक प्रतिवेदन सचिव पिताम्बर चापागाईंले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष गंगा भुसाल न्यौपानेले प्रस्तुत गर्नुभएको थियो। आर्थिक प्रतिवेदनअनुसार संस्थाको कुल पुँजी ६ करोड ६१ लाख ४० हजार ६ सय ३५ रुपैयाँ रहेको छ भने संस्थाले ५ लाख ५६ हजार ९ सय ७२ रुपैयाँ खुद नाफा गरेको छ।
यसैगरी, संस्थाको लेखा प्रतिवेदन लेखा संयोजक नारायणप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो।
साधारण सभाका अवसरमा शैक्षिक वर्ष २०८२ को एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सात जना शेयर सदस्यका छोराछोरीलाई प्रशंसापत्र तथा नगदसहित सम्मान गरिएको थियो।
त्यस्तै, संस्थामा नियमित बचत गर्ने तथा समयमै ऋण भुक्तानी गर्ने पाँच जना सदस्यलाई कदरपत्र र नगदसहित सम्मान गरिएको छ। संस्थाका दुई जना ज्येष्ठ शेयर सदस्यलाई समेत सम्मान गरिएको जनाइएको छ।
साधारण सभामा चिट्ठा कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा १८ वटा पुरस्कार राखिएको थियो। जसमा ६ वटा सान्त्वना, ४ वटा चौथो, ४ वटा तेस्रो, ३ वटा दोस्रो र १ वटा प्रथम पुरस्कार रहेको वडा अध्यक्ष मनबहादुर थापा मगरले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष थापा मगरले सहकारीलाई सरकारको तेस्रो पिल्लरका रूपमा उल्लेख गर्दै सहकारी संस्था सबैको सहकार्यमा सञ्चालन हुने बताउनुभयो।
उहाँले संस्थालाई अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिको मात्रै नभई सबै शेयर सदस्यको उत्तिकै रहेको भन्दै संस्थालाई अझ बलियो बनाउन सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सुनवल नगरस्तरीय सहकारी संस्थाका पूर्व अध्यक्ष रुक्मागत बस्याल, संस्थाका पूर्व अध्यक्ष खगेश्वर पराजुली, पूर्व अध्यक्ष रामप्रसाद पौडेल, थानप्रसाद गैरेलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।
संस्थाका उपाध्यक्ष सुशीला भुसाल ढकालले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन सचिव पिताम्बर चापागाईंले गर्नुभएको थियो।






प्रतिकृया दिनुहोस